कार्यक्रम तालिका
अहिले प्रसारणमा
सिंगिङ्ग डट कम
यस पछिको कार्यक्रम
राष्ट्रिय खबरहरू
 
सिंगिङ्ग डट कम 2:00 pm-3:00 pm
राष्ट्रिय खबरहरू 3:00 pm-3:15 pm
खिचडी 3:15 pm-3:55 pm
न्यूज अपडेट 3:55 pm-4:00 pm
 
 
#
धरावासीको 'झोला', फिल्म चाहिँ कस्तो होला ? »

 


काठमाडौँ, माघ २ - साहित्यकार कृष्ण धरावासीको चर्चित कथा 'झोला'माथि बन्न लागेको फिल्मको सोमबार सुटिङ थालिएको छ। सुटिङका लागि यसका कलाकार तथा प्राविधिकहरु नुवाकोटको भर्‍याङभुरुङ पुगेका छन्। 'झोला'माथि कसले फिल्म बनाउने भन्ने विषयले पनि चर्चा पाएको थियो। नुवाकोटमा 'झोला' सुटिङ हुँदैगर्दा काठमाडौंमा धरावासी के सोच्दैछन्? नागरिकले उनको अपेक्षा र छटपटी जान्ने प्रयत्न गरेको छ। 

'झोला' कथा जति रोचक छ, यसमाथि कसले फिल्म बनाउने भन्ने प्रतिस्पर्धा पनि उत्तिकै रोचक बन्यो है?

त्यसै भन्नुपर्ला। २०६० सालमा 'झोला' कथा संग्रह निस्कियो, २०६३ सालमै दिपक आलोक र यादव भट्टराईले फिल्म बनाउन अनुमति मागे मैले सही गर्दिएँ। दिपक बिते, यादव पनि अलमलिए, सम्पर्कमै आएनन्। बीचमा रमेश बुढाथोकीले फिल्म बनाउन चाहे। यादव आउँदैनन् होला भनेर मैले हुन्छ भनेँ। यो कुरा थाहा पाएपछि आफूले अनुसन्धान गर्दै गरेको भन्दै यादव आए। केही तनाव पैदा गरे पनि उहाँहरुबीच कुरा मिल्यो र आज सुटिङ सुरु भयो।

'झोला' किन फिल्मकर्मीको रोजाईमा परेको होला? 
फिल्मबारे धेरै कुरा त जान्दिन। यो एउटा ऐतिहासिक र सदाबहार कथा हो। अहिले पनि उत्तिकै सान्दर्भिक छ। नारी हिंसाका आवाज उठिरहँदा त अझै सामय सापेक्ष हुने नै भयो। नारी हिंसा अहिले पनि उस्तै छ। चेलीबेटी बेचबिखन, बलात्कार र नारी अधिकारलाई कुण्ठित गर्ने काम भएकै छ। त्यतिबेला सतिप्रथा वैधानिक थियो, रानीहरुलाई त जिउँदै जलाउँथे भने जनताको त कुरै भएन। सायद यसको सान्दर्भिकता बुझेरै होला केही दिन अघिमात्र निर्देशक तुलसी घिमिरेले पनि फोन गरेर 'झोला'को अवश्था बुझ्नु भएको थियो, मैले सुटिङ हुँदैछ भनिदिएँ।

साहित्यिक पुस्तकमाथि राम्रो फिल्म बन्न नसकेको गुनासो सुनिन्छ, 'झोला' राम्रो फिल्म हुन सक्ला त? 
आजै सुटिङ सुरु भएको छ। अहिलेलाई आलोचना भन्दा शुभकामना दिनु जाति होला। एउटा कुरा चाहिं पक्कै हो, ६ वर्षअघि केटाकेटी पाराले फिल्मकर्मीसँग सम्झौता गरिछु। आफूलाई फिल्मबारे राम्रो जानकारी थिएन। उनीहरुले पनि फिल्म बनाउन ढिलो गारे। म धेरै चिन्ता किन लिन्न भने फिल्म बिगारे पनि मेरो कथा त उस्तै रहन्छ नि। 'बसाइँ' र 'मुनामदन' फिल्मका रुपमा विग्रिए पनि पुस्तकका रुपमा त उत्तिकै राम्रा छन्।

भनेपछि फिल्मबारे त्यति वास्ता गर्नुहुन्न?
त्यस्तो वेवास्तै पनि हैन। मैले स्क्रिप्ट हेरँ, राम्रै लाग्यो। कथालाई तोडमोड गरेका छैनन्। फाईट र गीतको अनावश्यक प्रयोग नगर्नेमा सचेत छन्। झापाको मेरै घरमा सुटिङ गर्नुपर्छ भनेको छु, मानेका छन्। मेरो आर्थिक सम्झौता भईसकेको छ, एउटा कथाकारको हैसियतले पाउनुपर्ने पारिश्रमिक पाएँ। सामाजिक सरोकार के छ भने कथा पढेकाले फिल्म हेरेर असन्तुष्टी प्रकट नगरे जाती हुन्थ्यो।

कलाकरको छनोटबाट सन्तुष्ट हुनुहुन्छ? 
सबै कलाकार चिनेको छैन। गरिमा पन्तले आमाको भूमिका निर्वाह गर्दै छिन् रे। त्यो रोलमा २७ वर्षकी केटी चाहिने हो उमेर मिलेकै छ। मैले पनि भूमिकाको विषयमा राम्ररी कुरा बुझाएको छु। कलाकार हुन्, राम्रै गर्लिन् नि।

तपाईंलाई अरुको साहित्यमाथि बनेको फिल्म चाहिं कस्तो लागेको छ? 
'बसाईं' हेरेँ पटक्कै राम्रो लागेन, कलाकार नाटक जसरी बोल्छन्। विर्तामोडमा पहिलोपल्ट देखाएका थिए बाहिर निस्कदा लेखक लीलबहादुर क्षेत्री पनि निरास देखिनुभयो। यो फिल्म उति चलेजस्तो पनि लाग्दैन। 'प्रेमपिण्ड' र 'बासुदेव' राम्रो लाग्यो। साहित्यिक कृतिले धेरै राम्रा चिज ल्याउँछ तर त्यसको फिल्मीकरण हुँदा त्यो नासिन्छ।